Subcribe to our RSS feeds Join Us on Facebook Follow us on Twitter Add to Circles
July 19, 2025

March 7, 2014

भुइँमा स्याउ फलेपछि किसान चकित

म्याङलुङ : स्याउ जमिनमुनि पनि फल्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर तेह्रथुम आठराई संक्रान्तिका दुईजना अगुवा किसानले भुइँस्याउ रोपी माटोमुनि स्याउ फलाएर सबैलाई चकित पारेका छन्। संक्रान्ति ८ का अगुवा किसान भवानी ढुंगेल र पुण्यप्रसाद सिटौलाले जिल्लामै पहिलो पटक भुइँस्याउ खेती सुरु गरेका हुन्।

'सुरुमा आफूलाई स्याउ जमिनमुनि फल्छ भन्ने विश्वासै लागेन', ढुंगेलले भने, 'परीक्षणका लागि इलामबाट बीउ ल्याएर लगाएपछि थाहा भयो स्याउ रूखमा मात्र हैन, जमिनमुनि पनि फल्दो रहेछ।'

जमिनमुनि स्याउ फलेपछि आश्चार्य मान्दै स्याउ हेर्न आउने गाउँलेको भीड नै लागेको सिटौलाले बताए। ढुंगेल र सिटौलाले एक वर्षअघि इलामबाट आधाआधा किलो भुँइस्याउको बीउ ल्याएर बारीमा परीक्षणका लागि लगाएका थिए।

'दुवैजनाको बीउबाट ६८ वटा बिरुवा उत्पादन भए', ढुंगेलले भने, 'ती बिरुवाबाट एक हजार किलो स्याउ र ७० किलो बीउ उत्पादन भएको छ।' ढुंगेलका अनुसार भुइँस्याउको एउटा बोटमा १२ किलोदेखि २० किलोसम्म स्याउ फलेको थियो। भुइँस्याउ र स्याउको बीउबाट करिब दुई लाख रुपैयाँ आम्दानी भएको उनीहरूले बताए।

स्याउको बीउ घरैमा प्रतिकिलो दुई हजार रुपैयाँका दरले र फल भने प्रतिकिलो एक सयदेखि दुई सय रुपैयाँसम्ममा बिक्री भएको सिटौलाले बताए। फलमध्ये धेरैजसो प्रचारप्रसारका लागि नि:शुल्क वितरण गरिएको उनले जानकारी दिए। दुईजना किसानबाट तेह्रथुमका एक दर्जन बढी गाविसका करिब एक सयजना किसानले भुइँस्याउको बीउ खरिद गरिरहेका छन्।

तेह्रथुमका लागि नयाँ खेती भए पनि बजारका लागि कुनै समस्या नभएको सिटौलाको भनाइ छ। भुइँस्याउको बीउ र फल सबै घरमै बिक्री भएको उनले बताए। भुइँस्याउको बोट सूर्यमुखी फूलको जस्तै हुने र एकै वर्षमा फल दिने ढुंगेलले बताए। भुइँस्याउ सखरखण्ड र स्कुसको जराजस्तै जमिनमुनि फल्ने, बोक्रा ताछेपछि स्याउजस्तै देखिने र स्वाद पनि स्याउजस्तै हुने उनले बताए।

भुइँस्याउमा स्याउ, खरबुजा र गाजरको तीनवटा फलफूलको स्वाद सम्मिश्रण भएको पाइन्छ। डायबिटिज, जन्डिस, पत्थरी, कब्जियत र ग्यास्टिक पीडितले भुइँस्याउ सेवन गर्दा फाइदा पुग्ने किसानको दाबी छ। भुइँस्याउ पानी नजम्ने बलौटे माटो भएका तराईदेखि पहाडी जिल्लाको तीन हजार मिटरको उचाइसम्म खेती गर्न सकिने किसान बताउँछन्।

जिल्ला कृषि विकास कार्यालय तेह्रथुमका वरिष्ठ कृषि विकास अधिकृत पतेन्द्रबहादुर शाहले भने नेपालमा (ग्राउन्ड एप्पल) भुइँस्याउको खेती परीक्षणकै क्रममा रहेकाले अहिले नै यसबारे केही भन्न नसकिने बताए। भुइँस्याउको खेती विस्तार भए खाद्य सुरक्षाको हिसाबले राम्रो हुने शाहले बताए ।

 साभार: http://www.annapurnapost.com/

About ""

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Vivamus suscipit, augue quis mattis gravida, est dolor elementum felis, sed vehicula metus quam a mi. Praesent dolor felis, consectetur nec convallis vitae.

Post a Comment

 
Distributed By Free Blogger Templates | Design by Govinda Prasad | BTT