काठमाडौं, ६ साउन- सरकारले चालू आव ०७०/७१ मा मुलुकका विभिन्न स्थानमा निर्माणाधीन पाँच सिमेन्ट उद्योगमा पहँुच सडक निर्माण कार्य सक्ने भएको छ । औद्योगिक पूर्वाधार निर्माण गर्ने नीतिअनुसार मुलुकका विभिन्न स्थानमा निर्माणाधीन पाँच सिमेन्ट उद्योगमा पहँुच सडक, विद्युत् प्रसारण लाइन र सवस्टेसन निर्माण कार्य यसै आवमा सक्ने सरकारको तयारी छ ।
आइतबार उद्योगमन्त्रीसमेत रहेका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले औद्योगिक पूर्वाधार निर्माणका लागि १ अर्ब २३ करोड बजेट छुटाएको र चालू आव भित्रै पाँच सिमेन्ट उद्योगमा पूर्वाधार कार्य सम्पन्न गर्ने बताए । आव ०६५÷०६६ को बजेटमा औद्योगिक पूर्वाधार विकास कार्यक्रममार्फत नेपालमा सिमेन्ट उत्पादन गर्ने प्रचुर सम्भावना देखिए पनि संरक्षण गर्न नसकिएको भन्दै निजी लगानीमा स्थापना हुन लागेका सिमेन्ट कारखानामा सडक र विद्युत् आपूर्तिजस्ता आधारभूत भौतिक पूर्वाधार उपलब्ध गराउने घोषणा गरेको थियो । त्यही घोषणालाई पूर्णता दिन सरकारले यसै आवमा पाँच सिमेन्टको पूर्वाधार विकास कार्य सम्पन्न गर्ने तयारी गरेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आव ०६९÷०७० सम्म १३ वटा सिमेन्ट उद्योगको खानीसम्म औद्योगिक पूर्वाधारका काम सुरु गरिसकेको छ ।
“हामीले बहुुवर्षीय योजनाअनुरूप १३ वटा सिमेन्ट उद्योगको पूर्वाधार विकासको काम अघि बढाएका छौं,” मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले भनिन् । उनका अनुसार मन्त्रालयले यसै आवदेखि थप चार वटा उद्योगमा सडक विस्तारको कार्य अघि बढाउनेछ । जसमध्ये यसै आवदेखि धनकुटाको निगाले सिमेन्ट उद्योग सडक, जनकपुरको मारुती सिमेन्ट उद्योग सडक ,बुटबलको पाल्पा सिमेन्ट उद्योग सडक र सीजी सिमेन्ट उद्योग सडकको निर्माण कार्य सुरु गर्ने तयारी मन्त्रालयले गरेको छ ।
अहिलेसम्म दाङ जिल्लामा दाङ सिमेन्ट, रोल्पा सिमेन्ट, घोराही सिमेन्ट, र सोनापुर सिमेन्टको खानीसम्म सडक पूर्वाधार विकासको कार्य सुरु गरिसकेको छ यसैगरी पाल्पाको सीजी सिमेन्ट, सर्वोत्तम सिमेन्ट, बुटबल सिमेन्ट ललितपुरको लक्ष्मी सिमेन्ट, मकवानपुरको हेटांैडा शिवम् सिमेन्ट, लाहानको सौर्य सिमेन्ट, शिवपुरको मकालु सिमेन्टको कारखानासम्म सडक पु¥याउने कार्य यसअघि नै सुरु भएको मन्त्रालयले जनाएको छ । यीबाहेक थप तीनवटा सिमेन्टमा पूर्वाधार विकासको काम पनि यसै वर्षदेखि सुरु गरेपछि यो संख्या १६ पुग्नेछ । पूर्वाधार विकास कार्यक्रममार्फत नेपालमा सिमेन्ट उद्योगलाई प्राथमिकता दिने र आयतित सिमेन्टलाई प्रतिस्थापन गर्ने उद्देश्यअनुरूप सरकारले सडक पहुँच मार्ग निर्माणलाई तीव्रता दिएको हो । सरकारको नीतिअनुसार ०७३ साल पस्चात नेपाली सिमेन्ट उद्योगले आयातित क्लिंकरको प्रयोग गर्न पाउने छैनन् ।
बक्समा
सिमेन्टको नाम सडकको लम्बाइ (किमी) आयोजना सुरु भएको मिति (आवमा) दाङ सिमेन्ट ३८.०० २०६५/०६६
रोल्पा १८.०० २०६६/०६७
घोराही २६.०० २०६७/०६८
सोनापुर २५.०० २०६७/०६८
सीजी २०.०० २०६६/०६७
सर्वोत्तम १२ .०० नयाँ
बुटबल ९.०० नयाँ
युनाइटेड ४.५ २०६६/०६७
लक्ष्मी ३९.०० २०६७/०६८
भारदेउ २०.१६ २०६८/०६९
शिवम् २३.०० २०६५/०६६
सौर्य ९.४० २०६५/०६६
मकालु ३०.०० २०६८/०६९
निगाले १२.०० नयाँ
मारुती २०.०० २०६९/०७०
पाल्पा ३०.०० नयाँ
सीजी २.२ २०६९/०७०
जम्मा ३३८.२६
स्रोत: http://www.karobardaily.com/
Post a Comment