Subcribe to our RSS feeds Join Us on Facebook Follow us on Twitter Add to Circles

March 15, 2014

कृषिले बिर्साएको वैभव


जागिरमै नपुग्दो केही थिएन, अजितकुमार लाल कर्ण, ३०, लाई। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सर्च फर कमन ग्राउन्डबाट पौने लाख रुपियाँभन्दा बढी बुझ्थे मासिक। जेपी गुप्ता र उपेन्द्र यादवजस्ता मधेसवादी नेताका निकै निकट रहेर काम गरेका उनका लागि विद्यार्थी राजनीतिमा पनि उत्तिकै सम्भावना थियो। एकातिर गजबको जागिर, अर्कातिर राजनीतिक सहभागिता। कलिलै उमेरमा पाएको उपलब्धिबाट उनका घरपरिवार-साथीभाइ सब दंग थिए। तर, एक्कासि उनले सबथोक त्यागिदिए। आईएनजीओ, विद्यार्थी राजनीति अनि सहर पनि। झन्डै दुई वर्ष भूमिगतजस्तै भए। 'केटोको मगज खुस्किएछ' भन्नेहरू हावी भए, घरपरिवार खुसी हुने त कुरै भएन।

उनलाई के लागेछ भने आफूसँग जे छैन, त्यसैका लागि गरबि बनिरहेका छौँ हामी। तर, भएका कुरालाई सदुपयोग गरेर धनी बन्न भने सिकेकै छैनौँ। कृषिप्रधान देशमा सम्भावना कृषिमै हो भन्ने त बुझेका थिए, व्यवस्थापन विषयमा स्नातकोत्तर यी युवाले। तर, के गर्ने थाहा थिएन, न त उनलाई, न साथ लागेका साथीहरूलाई नै। झन्डै दुई वर्ष डेढ दर्जनभन्दा बढी जिल्लाका कृषि फर्म घुमेछन्उनी । आखिर सप्तरीका अजितलाई छेवैको जिल्ला धनुषाले मोहनी लगायो। १० कट्ठा जमिनबाट सुरु भएको गाई तथा कृषि फर्म अहिले झन्डै साढे दुई बिघामा विस्तार हुने क्रममा छ।

उद्यमशीलताले सामाजिक सुरक्षामा पनि कति सघाउँदो रहेछ भन्ने उदाहरण नै बनेको छ अजितको कृषि फर्म। कुरा के भने, धनुषा र महोत्तरी जिल्लाको सिमानामा पर्ने बिन्धी गाउँमा छ, उनीहरूको नन्दिनी कृषि फर्म। ठाउँ कस्तो भने एकलासको, लुटपाट भइरहने, यदाकदा हत्याका घटना पनि भएका। तर, भर्खरका पट्ठो 'चुल्ठेमुन्द्रे'हरूले असुरक्षालाई चुनौती दिँदै कृषि फर्म खोलेपछि अपराधीहरू हच्किए। अजित सम्झन्छन्, "यता हामी उनीहरूको डरले रात परेपछि फर्मबाटै निस्कन्नथ्यौँ, उता उनीहरू पनि केटाहरूले अड्डा जमाएका छन् भनेर आउन हच्किँदा रहेछन्।"

फर्म सुरु गर्दा ७२ हजारमा गाई किनेर ल्याएका रहेछन्। अचम्म के भएछ भने फर्ममा ल्याएपछि नन्दिनी नामको त्यो गाईले दिनकै २४ लिटरभन्दा बढी दूध दिन थालिछन्। फर्मको ५० प्रतिशत खर्च त नन्दिनीले नै धानिने भयो। उनीहरू पनि के कम, फर्मको सबै सम्पत्ति नन्दिनीकै नाममा गरििदए। चार जना युवा फर्मका सञ्चालक बसे। अहिलेसम्म पनि लगानी खासै थपेका छैनन्, केवल भएको आम्दानीलाई पुनः लगानी गर्छन्उनीहरू । अहिले पनि धेरै दूध दिने नन्दिनीले नै हो। अजित भन्छन्, "फर्मको मालिक त नन्दिनी नै हो, हामी त केवल उनका सेवक हौँ।"

जनकपुरको विश्वकर्मा चोकमा नन्दिनी फर्मको आउटलेट छ। हरेक दिन बिहान र बेलुकी दुईपटक ताजा दूध आउटलेटमा पुग्छ। चल्तीको भाउ प्रतिलिटर ६० रुपियाँ भए पनि उनीहरू पाँच रुपियाँ महँगो लिन्छन्। तर, एक घन्टा बित्दा नबित्दै सबै दूध बिकिसक्छ। फर्ममा उब्जिने तरकारीको पनि उस्तै माग छ। पहिले आफ्ना उत्पादन बेच्न घरघर पुग्ने उनीहरूलाई अहिले माग धान्नै भ्याइनभ्याइ छ। अजित भन्छन्, "गुणस्तर दिन सक्ने हो भने बजारले नै उत्पादन खोज्ने बेला छ अहिले।"

रमाइलो के भने फर्मका गोठदेखि घरसम्म आफैँले बनाएका रहेछन्। सिमेन्ट घोल्नेदेखि पर्खाल ठड्याउने काम पनि आफैँ मिलेर गरेछन्। अहिले पनि भकारो सोहोर्नेदेखि गाई दुहुने कामसमेत आफैँ गर्छन्। यही मिहिनेतका कारण कृषि फर्म स्थानीय बालीसम्बन्धमा अनुसन्धान गर्ने केन्द्रका रूपमा समेत विकसित हुँदै छ। सुरुआती दिन सम्झँदै अजित भन्छन्, "गाई किनेर ल्याइसक्दासमेत गाईलाई के के खुवाउनुपर्छ भन्ने थाहा थिएन, अहिले त जिल्लाकै नमुना कृषक बनेका छौँ।"

About ""

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Vivamus suscipit, augue quis mattis gravida, est dolor elementum felis, sed vehicula metus quam a mi. Praesent dolor felis, consectetur nec convallis vitae.

Post a Comment

अन्तिम पोस्ट

 
Distributed By Free Blogger Templates | Design by Govinda Prasad | BTT